मंसिरमा चल्दै ‘हम जाएगा'
Posted by Crystal Filmy on Thursday, September 18, 2014 | 0 comments
काठमाडौं–
फिल्म ‘हम जाएगा' आगामी मंसिर ५ मा रिलिज हुने भएको छ। यसले मंगलबार पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रचार थालेको हो। दशैं तिहारपछि रिलिज हुने फिल्मले धमाधम प्रचार थालेका छन्। पुसमा रिलिज हुने फिल्म ‘आभाष'ले सोमबार गीत सार्वजनिक गरेको थियो। अनामनगरस्थित मण्डला थिएटरमा पत्रकारमाझ फिल्मले पोस्टरसँगै फिल्मका दुई गीत पनि सार्वजनिक गरेको थियो। दार्जिलिङ, सिक्किमतिर जोक्सको पात्रका रुपमा प्रख्यात पात्र हो हम जाएगा। असली नाम दलबहादुर गुरुङ रहेको ‘हम जाएगा'ले तुलसी घिमिरे निर्देशित फिल्म ‘कुसुमे रुमाल'मा छोटो अभिनय गरेका थिए। नाम सापटी लिइए पनि फिल्म उनको कथामा आधारित नरहेको निर्देशक सुरेन्द्र पुनले स्पष्ट पारे। ‘नाम र उनले गर्ने चालकको पेशालाई फिल्ममा समावेश गरेका छौं। बाँकी कुरा काल्पनिक हुन्। जसरी दार्जिलिङका हम जाएगा रसिक र रमाइलो मन पराउने खालका थिए हाम्रो फिल्मको मुख्य पात्र पनि त्यस्तै प्रकृतिको छ,' सुरेन्द्रले स्पष्ट पारे। फिल्ममा बाबु बोगटी, विल्सन विक्रम राई, मनोज आरसी, रवि गिरी, पार्वती राई, ऋचा धिताल, रेशम फिरिरी आदिको अभिनय रहेको छ। फिल्मको शीर्ष भूमिकामा देखिने बाबु बोगटीले फिल्म व्यावसायिक रहेको धारणा राखे। ‘फिल्मभित्र लभरब्वाईको भूमिकामा छु। फिल्मको कथासँगै संगीत सशक्त छ। फिल्मले दर्शकलाई बाँधेर राख्नेमा विश्वस्त छु,' बोगटीले भने। सुरेन्द्र पुनकै लेखन तथा संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन र योगेन्द्र श्रेष्ठको द्वन्द्व रहेको छ। फिल्मलाई टंक गुरुङ, सूर्य ब्लोन, ओमकुमारी पुन र सरस्वती लामाले निर्माण गरेका हुन्।

0 comments for "मंसिरमा चल्दै ‘हम जाएगा' "
Leave a reply