पर्यटकसँग फोटो खिचाउने जोगीको अाम्दानी लाख

Posted by Crystal Filmy on Thursday, September 18, 2014 | 0 comments


कृष्ण गुरागाईं
निहाउ निहाउ…. भक्तपुर दरबार स्क्वायरको प्राङ्गणबाट मन्दिरको फोटो खिच्न क्यामरा मास्तिर तेर्स्याउने वित्तिक्कै उनी मुसुक्क हाँसेर नमस्कार गर्छन् । कुनै पर्यटकको आखाँ उनीमा अडियो भने उनी हौसिदै क्यामराका लागि पोज फेर्छन् - ज्ञान मुद्रा वा ध्यान मुद्रा,  मुस्कान यथावत ।  पर्यटकले उनको हाउभाउमा चासो दिए भन्ने पक्का भएपछि अब उनी आफ्नो छेउमा बसेर फोटो खिच्न पर्यटकलाई हौस्याउँछन् 'फोटो, कम, कम हेयर, फोटो ।' 


उनले यसरी बोलाउँदा कोही फुरुङ्ग हुँदै मन्दिरका केही सिढींहरु उक्लेर फोटो खिचाउन उनी छेउ पुगि हाल्छन् त कोही त्यतैबाट बाटो लाग्छन् । कसैलाई भने सँगै गएका गाइडहरुले बाटैबाट रोक्छन् । यसरी फोटो खिच्न खिचाउन आउनेहरुलाई उनी पोज सिकाउँछन् – ध्यान मुद्रा ज्ञान मुद्रा नमस्कार । धेरैले उनकै सिको गर्छन् । कतिपय तन्नेरी पर्यटक चै उनैलाई पोज सिकाउँदैछन्  –फिङ्गर क्रस र भिक्ट्री पोज । पर्यटकका रुची अनुसारका पोज दिन अभ्यस्त भइसके जस्ता देखिन्छन् उनी । नाम - पिताम्बर घोरासैनी । उमेर - ७४ वर्ष । हुलिया – सेतो कपाल लामो सेतै दाह्री, मुजा परेका निधार र गाला , फुक्लिन बाँकी केही दाँत, गेरु वस्त्र ।  ८ महिना भयो भक्तपुर दरबार स्क्वायर परिसरमा पर्यटकहरुसँग फोटो खिचाएर बस्न थालेको पनि - सुरुसुरुमा पर्यटकहरु यसै फोटो खिच्न आउँथे र पैसा दिएर जान्थे । यसो गर्दा गुजारा गर्न सजिलो हुनेरैछ लागेर पर्यटक ओहोरदोहोर गर्ने भक्तपुर दरबार स्क्वायर वरपर बस्न थालेको अनुभव उनले सुनाए 'म कोहीसँग माग्दिन । खुशी हुनेले आफैं दिन्छन् । सबै उनै प्रभुको लिला हो । भक्तलाई एउटा एउटा खाने बाटो उनैले देखाउँछन् ।' अंग्रेजीमा आफ्नो परिचय सजिलै दिन सक्छन् पिताम्बर ।  भक्तपुरमा धेरै चिनियाँ पर्यटकहरुसँग फोटो खिचाउँदा खिचाउँदै संगतले उनी धेरथोर चाइनिज पनि बोलिहाल्छन् । त्यसैले त चिनियाँ पर्यटकहरु प्राङ्णमा देखिए उनीहरुका ध्यान खिच्न उनी भनिहाल्छन् - निहाउ निहाउ । यसरी फोटो खिचेर खुशी हुने कसैले त १५ सय २ हजारसम्म पनि दिएका छन्, भन्छन् – केही नभए पनि दिनमा ६, ७ सय त यसै उठ्छ । खान बस्न अनि देउतीर्थ गर्न यही पैसाले मनग्गे पुगेको उनले बताए । यो ८ महिनाको अवधिमा उनी चतारा धाम कुम्भ मेला, पाथीभरा, हलेसी महादेव लगायत देशभित्रका थुप्रै तीर्थ पुगीसके । १ लाख जति त भयो होला । तर कति भयो कति कसले हिसाव गर्‍या छ र ! कमाउने लोभ भए पो गन्नु । न कसैलाई पाल्नु, दिनु पर्ने नै छ । साह्रा सम्पत्ति छोडेर जोगी भएर हिँडेकालाई धेरै पैसा पनि के काम - उनले सुनाए । पहिलोपल्ट घर छोडेर मुग्लान पस्दा २१ वर्षका थिए पिताम्बर । २० वर्ष उतै विताएर गाउँ फर्केका उनले विहेवारी घरजम व्यापार सबै उतै गरे । उमेरमा पैसा पनि कमाए । केटाकेटी उतै जन्मिए उतै हुर्किए । अब त ती केटाकेटीका पनि केटाकेटीका विहेदान गर्ने वेला भो । 'नातीनातीना आजकाल अमेरिका अष्ट्रेलिया जाने भन्दै पासपोर्ट बनाउँदैछन्' उनी भन्छन् 'एउटा छोरो अझै भारतमै व्यापार सम्हालेर बस्छ, अर्को चै काठमाडौंको नामी होटेलमा हेड कुक छ ।' घरबुढी वितेको २६ वर्ष भइसकेछ, उनले औला भाँचे । 'छोराछोरी घरव्यवहारमा लागेर गाउँ पस्नै छोडेपछि पनि ६-७ वर्ष त उनी घर खेतसँग एक्लै रमाइ नै रहे । तर एक दिन दुइ दिन गर्दै उनलाई खेतबारीको अलैची आँप नासपाती बिमिरोको रहर मर्दै गयो । मुख बोल्ने साथी नी भएनन् । गाउँमा कोही बस्दैनन् अचेल । म बुढो एक्लै घरबारी रुँगेर कति बस्नु भनेर ५ वर्ष अघि म पनि हिँडे झोली तुम्मो बोकेर जोगीको बाटो ।' एकै प्रश्नको जवाफमा उनले आफ्नो जीवनकथा सुनाइभ्याए ।काठमाडौं नेपाल लेखेको झोलामा पर्यटकले उनीसँग फोटो खिचाइसकेपछि दिएको डलर, युरो चाइनिज र नेपाली रुपैयाँ छ । त्यही  झोलामा छ दिनभरिलाई पुग्ने पानी, फलफूल र सुर्य चुरोटको बट्टा पनि । विहान ९ बजे बन्दोबस्तीसाथ भक्तपुर दरबार स्क्वयार छिर्छन् उनी र विदेशीहरु वरपर देख्नेवित्क्कै पोज दिन थाल्छन् । उज्यालो सकिदै जाँदा फोटो खिच्नेहरु पनि पातलिदै जान्छन् अनि घामसँगै उनको दिन पनि सकिन्छ ।

0 comments for "पर्यटकसँग फोटो खिचाउने जोगीको अाम्दानी लाख"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor